सल्यान, ४ फगुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य जर्नादन शर्मा ‘प्रभाकर’ ले नेकपाको विवादलाई थाँती राखेर निर्वाचन हुन नसक्ने बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछिको नेकपाको विवाद निर्वाचन आयोगमा विचाराधीन अवस्थामा रहेकाले यस्तो अवस्थामा मध्यावधि निर्वाचन हुन नसक्ने बताए।
मंगलवार प्रेस संगठन नेपाल, सल्यानले खलंगामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै शर्माले यस्तो बताए।
उनले भने, ‘अहिले नेकपा भित्रको विवाद उत्कर्षमा पुगेको छ, पार्टीको आधिकारिकताको लागी विवाद निर्वाचन आयोगमा पुगेको छ, यस्तो अवस्थामा कुनै पनि हालतमा मध्यावधि निर्वाचन हुन सक्दैन। यदी यस्तो अवस्थामा निर्वाचन गर्न खोजियो भने त्यसको हिसाबकिताब जनताले गर्नेछन्।’
स्थायी कमिटी सदस्य शर्माले नेकपा भित्रको विवाद पार्टी विशेषको नभई नयाँ प्रणालीको कार्यान्वयन गर्ने वा नगर्ने बीचको लडाई भएको बताए। अहिलेको पार्टी विभाजन पद, प्रतिष्ठाको लागी नभई राजनीतिक स्थायित्व र समृद्ध नेपाल निर्माणको लागी भएको उनको भनाई छ।
पूर्व गृहमन्त्री समेत रहेका नेता शर्माले अहिलेको संसद् विघटन संविधान खारेजी जस्तै भएको बताए। संविधानको एक धारा नै कुल्चिएर संसद् विघटन गर्नु संविधान खारेजी गर्नु सरह नै हो उनले भने। उनले पार्टी भन्दा पनि देशको चिन्ता बढी रहेको बताए।
शर्माले संसद् पुनःस्थापना हुनेमा आफ्नो पार्टी र जनता विश्वस्त रहेको बताए।




