काठमाडौँ, ३ फागुन । अधिवक्ता टीकाराम भट्टराईले वैशाखमा चुनाव नहुने बताएका छन्। प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा दायर भएका रिटमाथि भएको सुनुवाइमा सहभागी हुँदै अधिवक्ता भट्टराईले चुनाव नभएपछि देशमा संवैधानिक संकट आइपर्ने बताएका हुन्।
रिट निवेदकका पक्षबाट बहस गरेका भट्टराईले देशलाई संवैधानिक संकटमा पर्न नदिनमा पनि प्रधानमन्त्रीको सिफारिसमा भएको विघटन बदर गर्नुपर्ने जिकिर पेस गरेका हुन्।
उनले भने, ‘वैशाख निर्वाचन भएन भने कसले के गर्छरु वैशाखपछि मुलुकमा संवैधानिक संकट आउँछ। वैशाखमा निर्वाचन नहुने निश्चित छ। त्यो अवस्थामा न कार्यपालिकाले काम गर्न सक्छ, न्यायापालिका रहन्छ ।’
वैशाख २७ पछि कार्यपालिका र न्यायपालिका ठप्प हुने उनको भनाइ छ। यसमा अदालतले बाटो देखाउनु पर्ने र यसका लागि विघटनलाई बदर गरिनुपर्ने उनले दाबी गरे।
‘बाटो देखाउने काम अदलातको हो। संकटकालमा निर्वाचन हुन्छ भनेर यही अदालतले भनेको थियो। तर अहिले त्यो भन्दा डरलाग्दो अवस्था छ। प्रधानमन्त्री ओलीले खेल मैदानभन्दा बाहिर गएर गोल गरे। अदालतले खेल मैदानभित्र आएर मात्र गेम खेल भन्नुपर्यो ।’ निवेदक पक्षको जवाफी बहसमा अधिवक्ता भट्टराईले भने।
प्रतिनिधि सभा विघटनको मुद्दामा निवेदक पक्षले जवाफी बहस गरिरहेको छ। यसअघि सरकारी पक्ष र सभामुख तथा प्रधानमन्त्री केपी शर्मा ओलीका निजी कानुन व्यवसायीले बहस गरिसकेका छन्।




