काठमाडौँ, २७ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको सचिवालय बैठक पेरिसडाँडामा बस्दैछ । भोलि अर्थात् बुधबार हुने जनप्रदर्शनबारे छलफल गर्न सचिवालय बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
यस समूहले बुधबार राजधानीमा वृहत जनप्रदर्शन गर्दैछ । संसद विघटन विरुद्ध सडक आन्दोलन गरिरहेको प्रचण्ड–नेपाल समूहको नेकपाले भोलिको जनसभालाई सशक्त बनाउने तयारी गरेका छन् ।
यसअघि २३ गते प्रधानमन्त्री केपी ओली समूहले दरबारमार्गस्थित नारायणहिटी दरबार अगाडि गरेको शक्ति प्रदर्शन लगत्तै प्रचण्ड समूहले जवाफी आन्दोलनको रूपमा प्रदर्शन गर्न लागेको बताएका छन्।
गत पुस ५ गते प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल लगायत नेताहरु निरन्तर सडक आन्दोलनमा रहेका छन् । उनीहरुले संसदको पुनर्स्थापना र प्रधानमन्त्रीको राजीनामा लगायत माग गर्दै आएका छन् ।




