काठमाडौँ, ९ माघ । पुष्पकमल दाहाल–माधवकुमार नेपाल नेतृत्वको नेकपाका नेता घनश्याम भुसालले अब प्रधानमन्त्री केपी शर्मा ओलीको सेटिङले देश नचल्ने बताएको छ ।
प्रतिनिधिसभा विघटन विरुद्ध शुक्रबार भृकुटीमण्डपमा आयोजित विरोधसभामा नेता भुसालले यतिबेला सबैले प्रधानमन्त्री ओलीले सबैतिर सेटिङ मिलाएका छन् भनेर भन्ने गरे पनि त्यसो हुन नदिइने बताएका हुन् ।
उनले सम्बोधनका क्रममा भने, ‘अब केपी ओलीका जालझेल र षड्यन्त्रलाई कुनै हालतमा पूरा हुन दिइने छैन । सबैले केपी शर्मा ओलीले सेटिङ गरिरहेका छन् भन्ने गरेका छन् । तर अब केपी ओलीको सेटिङले देश चल्दैन, सेटिङ त जासुसी उपन्यासहरुमा मात्र सफल हुन्छ ।’
२१औं शताब्दीमा सेटिङ मिलाएर अदालतलाई दबाउन सकिन्छ भन्ने भ्रम पाल्नु भएको छ भने कमरेड ओली तपाईंले गलत गर्दै हुनुहुन्छ । यसै कारण तपाईं भोलि पराजित हुनु हुनेछ ।
भुसालले सम्बोधनका क्रममा भने, ‘संविधानलाई बन्धक बनाएर केपी ओली तान्डव नाच्दै हुनु हुन्छ । विभिन्न जालझेल गरेर भए पनि आफूले जित्ने निश्चित नभएसम्म केपी ओलीले चुनाव गराउनु हुन्न । कसैले चुनावको अपेक्षा गरेका छन् भने त्यो भ्रम हो । चुनाव हुनेवाला छैन ।
उनले अहिले देशका सामु लोकतन्त्र पराजित हुने वा केपी ओली पराजित हुने भन्ने दुईवटा विकल्प मात्रै रहेको पनि बताए ।




