एजेन्सी, ८ माघ। चीनले अमेरिकाका पूर्व विदेशमन्त्री माइक पोम्पेओसहित डोनाल्ड ट्रम्प प्रशासनका २८ अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको छ । आफ्नो आन्तरिक मामिलामा समस्या निम्त्यएको भन्दै चीनले उनीहरुप्रति प्रतिबन्ध लगाउने निर्णय गरेका हुन्।
चीनको विदेशमन्त्रालयले बुधबार जो बाइडनले राष्ट्रपतिको शपथ लिँदै गर्दा उक्त जानकारी दिएको हो । ट्रम्प प्रशासनको पालामा चीन र अमेरिकाबीचको सम्बन्ध अहिलेसम्मकै कमजोर बनेका थिए।
चीनले प्रतिबन्ध लगाएका अमेरिकी अधिकारीहरुमा ट्रम्पका व्यापार सल्लाहकार पिटर नाभारो, राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्रिन, स्वास्थ्यमन्त्री एलेक्स अजर र संयुक्त राष्ट्रसंघका स्थायी प्रतिनिधि केली क्राफ्टल गायत रहेका छन् ।
साथै, ट्रम्पका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टन र पूर्व सल्लाहकार स्टेफन ब्यानोनप्रति पनि चीनले प्रतिबन्ध लगाएका छन् । उनीहरुले राजनीतिक स्वार्थ र पूर्वाग्रहलाई ध्यानमा राख्दै चीनविरुद्धको नियम ल्याएको आरोप लगाइएका छन् ।
प्रतिबन्धसँगै व्यक्तिगत तथा परिवारलाई पनि चीन, हङकङ र मकाउ भ्रमणमा प्रतिबन्ध लगाइएको छ । उनीहरु संलग्न भएको कम्पनीले पनि चीनमा व्यवसाय गर्न नपाउँने भएको छ ।
बाइडन पक्षका नेताहरुले चीनको यो कदमको विरोध गरेका छन् । चीनले अमेरिकामा विभाजन ल्याउनका लागि यस्तो कदम चालेको उनीहरुको आरोप छ ।
ट्रम्प प्रशासनले निरन्तर चीनलाई दबावमा राख्ने कदमहरु चालेका थिए। यस्तोमा ट्रम्प प्रशासनको कार्यकाल सकिएसँगै चीनले अमेरिकी अधिकारीहरुप्रति प्रतिबन्धको घोषणा गरेका हुन् ।




