एजेन्सी, ७ माघ । अमेरिकाको ४६ औं राष्ट्रपतिका रूपमा आज जो बाइडेन र र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले शपथ ग्रहण गर्दैछन् ।
स्थानीय समयअनुसार बुधबार दिउँसो १२ बजे अमेरिकी संसद् भवनमा शपथ समारोह आयोजना हुनेछ । नेपाली समयअनुसार आज राति १० बजेर १५ मिनेटमा शपथग्रहण गरेपछि उनीहरूको कार्यकाल सुरु हुनेछ ।
पदभार ग्रहण गरेसँगै बाइडेन अबको ४ वर्षसम्म ह्वाइट हाउसको निवासमा बस्नेछन् । नव निर्वाचित राष्ट्रपति जो बाइडेनले जम्मा ३५ शब्दको शपथ खाने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले अमेरिकाको संसदमा आक्रमण गरेपछि सत्तारोहण समारोहमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । आज वासिङ्टन डिसीका धेरैजसो ठाउँहरु बन्द हुने भएका छन् ।
बाइडेनले शपथ ग्रहण गर्नुअगाडि नै अमेरिकी संसद् भवन वरपर २० हजारभन्दा बढी सैनिक तैनाथ गरिएका छन् । अमेरिकाको सत्तामा बाइडेन भित्रिएसँगै आजदेखि डोनाल्ड ट्रम्प भने ४ वर्षे कार्यकाल सकेर बाहिरिँदै छन् ।

यस पटक कोरोना महामारीका कारण अमेरिकाको राष्ट्रपति शपथ ग्रहण समारोह अघिल्ला वर्षमा जस्तो भव्य हुने छैन ।




