दाङ, ४ माघ। नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओली समूहको पार्टी मेला मात्रै नभएर झमेला भइसकेको तर्क गरेका छन् ।
दाङकमा कार्यकर्ता भेला सम्बोधन गर्दै नेपालले ओली समूहको केन्द्रीय कमिटीको संख्या आफैंमा झमेला भइसकेको जनाएको छ । ‘बालुवाटारतिर जनता जानै डराउँछन् । पक्रेर केन्द्रीय सदस्य बनाइदिहाल्छन् । कतिलाई केन्द्रीय सदस्य सुन्नु नपरे पनि हुन्थ्यो भएको छ’, उनले भने ।
उनले भने, ओलीले केन्द्रीय सदस्य मनोनित गरेकामध्ये दुई सय जनाले अस्वीकार गरिसकेको छ। लगभग एक सयको हाराहारीमा रहेकाहरुले १५०१ सदस्यीय केन्द्रीय कमिटी बनाएको र त्यो संख्या पाँच हजार पुग्ने अध्यक्ष नेपालले बताए । ‘केपी ओलीले जे गरेपनि ठीक भयो भन्ने भारदारहरु छन् । संसद् विघटनलाई पनि ठीक गर्नुभयो भन्ने, पार्टी विभाजनलाई पनि ठीक गर्नुभयो भन्ने’, उनको भनाई छ ।
नेपालले ओलीमा आफू महाराजा बनेको र भारदारहरुबाट प्रशंसा खोज्ने प्रवृत्ति रहेको बताए । विधि, विधान र संविधान नमान्ने ओलीले आफूले जे गर्यो, त्यही कानुन भन्ने अहंकार रहेको उनको भनाइ थियो । तर एकदिन नाङ्गो राजाको अवस्था आउने उनको चेतावनी थियो ।
पार्टी, आन्दोलन, संविधान, देश केही पनि भन्ने भस्मासुर प्रवृत्ति ओलीमा रहेको नेपालले आरोप लगाए । प्रतिनिधिसभा विघटन गरेर ओली आफैं काम चलाउ सरकारको प्रधानमन्त्री बनेको उनको भनाई छ। यस्तो प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन देखि दीर्घकालीन महत्वको काम गर्न नमिल्ने बताएको छ ।




