काठमाडौँ, ४ माघ । नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद् विघटन विरुद्ध अब निर्णायक आन्दोलन हुने बताएका छन्। दाहाल–नेपाल पक्षीय राष्ट्रिय युवा सङ्घ नेपालको बैठकलाई काठमाडौँमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
दाहालले आफूहरू प्रधानमन्त्री केपी शर्मा ओली जस्तो अस्वाभाविक मान्छे नभएको पनि बताएका छन्। अब हामीले आन्दोलनलाई निर्णायक बनाएर जानु पर्छ, उनले भने, हामी जन्त जाने बेला रुँदै जाने र मलामी जाँदा हाँस्दै हिँड्ने केपी ओली जस्ता होइनौँ। हामी उहाँ जस्तो अस्वाभाविक मान्छे होइनौँ, त्यसैले हामी सही छौँ ।
दाहालले अब युवाहरूले आन्दोलनको मोर्चा सम्हाल्नु पर्ने पनि बताए। बरु आन्दोलनको अग्र मोर्चामा खटिन म तयार छु, गिरिजाबाबुले जस्तो पुलिसको लाठी पनि खाउँला, उनले भने, अब आन्दोलन पनि जुझारु बनाएर लानुपर्छ, केपी ओलीको प्रतिगमनलाई घुँडा टेकाऊ नै पर्छ।




