विराटनगर, २ माघ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको यही माघ ११ गते विवाह हुने भएको छ । उनको विवाह अमेरिकामा बस्दै आएकी नेपाली युवतीसँग काठमाडौंमा हुने तय भएको हो ।
विवाह हुने तय भएको मुख्यमन्त्रीका स्वकीय सचिव नवराज राईले पुष्टि गरेका छन् । उनले विवाह हुने फिक्स भएको तर केटीको नाम चाहिँ आफूलाई थाहा नभएको स्वकीय सचिव राईले बताए ।

विवाहलगत्तै प्रदेश राजधानी विराटनगरमा विवाहको शुभकामना तथा प्रितिभोज कार्यक्रम हुनेछ । विराटनगरमा हुने कार्यक्रममा प्रदेश १ का राजनीतिकर्मी, उद्योगी, व्यापारी, शुभचिन्तक, सांसद, कर्मचारीलगायत अतिथि र निम्तालुको सहभागिता रहने बताइएको छ । मुख्यमन्त्री राईले अन्तरजातीय विवाह गर्न लागेको उनी निकटस्थहरु बताउँछन् । मुख्यमन्त्री राईले शेर्पा थरकी युवतीसँग विवाह गर्ने भएका हुन् ।
संघीय सरकारका मन्त्री समेत बनिसकेका मुख्यमन्त्री राई उच्च पदमा पुगेसँगै उनको विवाहको चर्चा चल्ने गरेको थियो । यस अघि उनले सञ्चारमाध्यममा प्रदेशको नामाकरण पछि विवाह गर्ने भनेर बताउँदै आएका थिए ।




