काठमाडौँ, १ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष द्वय माधव कुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको बलिदानी पूर्ण सङ्घर्षबाट प्राप्त सामाजिक र राजनीतिक अधिकारमाथि सरकारबाट प्रहार भइरहेको बताएका छन्।
‘नेपाली जनताको आपसी एकताबाट पैदा भएको परिवर्तन सोचका कारण नेपालमा सामाजिक र राजनीतिक परिवर्तन सम्भव भएको हो। ’माघे सङ्क्रान्तिको अवसरमा बिहीबार संयुक्त शुभकामना सन्देश दिँदै उनीहरूले भनेका छन्, ‘तर, नेपाली जनताको बलिदानी पूर्ण सङ्घर्षबाट प्राप्त सामाजिक र राजनीतिक अधिकारमाथि सरकारबाट प्रहार भइरहेको छ।’
नेपाली समाजका आफ्नै मौलिक परम्परा र संस्कृति रहेको शुभकामना सन्देशमा उल्लेख छ। ‘विभिन्न भू–भागमा छरिएर रहेका समुदायका यस्ता चाडपर्वहरू राष्ट्रको समुच्चा मौलिक पहिचान हो।’ पूर्वप्रधानमन्त्रीद्वय माधव–प्रचण्डले सन्देशमा भनेका छन्, ‘भौगोलिक विविधतायुक्त नेपालका सामुदायिक सांस्कृतिक सहिष्णुता र पारस्परिक एकता परम्परागत धरोहर हुन्। यिनै मार्फत नेपालीहरूमा आपसी सद्भाव, प्रेम, भातृत्व, सहिष्णुता र एकताको विकास भएको हो।’
स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्दै उनीहरूले नयाँ वर्षको आगमनको रूपमा मनाइने यो पर्व सामाजिक दुरी कायम गर्दै स्वास्थ्य सुरक्षा अपनाएर आफ्ना परिवारका सदस्यहरू माझ हर्षोल्लासपूर्ण मनाउन आग्रह गरेका छन्।
उनीहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि एकजुट भएर अगाडि बढ्न आह्वान गरेका छन्।




