काठमाडौं, २८ पुष । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली पदबाट हटाउने डरले संसद विघटन गरेको बताएका छन्।
गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै श्रेष्ठले प्रधानमन्त्री ओलीले आफूलाई पदबाट हटाइन्छ किन भन्ने डरले संसद विघटन गरेको बताए।
‘प्रधानमन्त्रीलाई संविधान बनाउँदा नै संसद विघटन गर्ने अधिकार दिएको छैन,’ उनले भने, ‘तर, उहाँले पार्टीभित्र छलफल बहस चलिरहेको बेलामा पदबाट हटाइन्छ कि भन्ने डरले संसद विघटन गर्नुभयो।’

कम्युनिस्ट पार्टीभित्र छलफल र बहसलाई सामान्य रुपमा लिनुपर्नेमा ओलीले संविधानको हत्या गरेको प्रवक्ता श्रेष्ठको आरोप छ। ‘ओली गुटमा लागेकाहरूले नै संवैधानिक व्यवस्था नभए पनि बाध्यताले गर्दा संसद विघटन गरेका बताउँदै आइरहेका छन्,’ उनले भने, ‘आफ्नो व्यक्तिगत स्वार्थका लागि संविधानको नै हत्या गर्नुपर्ने कस्तो बाध्यता आइलाग्यो?’
प्रवक्ता श्रेष्ठले पार्टीभित्रको मुख्य समस्याको जड नै ओली भएको आरोप लगाए। ‘विवाद समाधानका लागि पार्टीभित्र स्थायी कमिटीको बैठक चलिरहेको थियो,’ उनले भने, ‘तर, उहाँले बैठकमा नआएर आफ्नो स्वार्थ मात्रै हेरेर निर्णय लिनुभयो।’
प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओलीको समर्थकले पदका लागि संविधान च्यात्न पाइन्छ? भन्ने प्रश्नको जवाफ दिनुपर्ने बताए। उनले आफ्नो पक्षमा बहुमत भएकाले निर्वाचन आयोगले आधिकारिकता दिने जिकिर गरे।
‘सबैको ध्यान सर्वोच्च अदालतमा पुगेको छ। तर, सर्वोच्च अदालतले संविधानमा रहेर निर्णय गर्ने हुनाले आफ्नो पक्ष सफल हुन्छ,’ उनले भने, ‘हामी अहिले संघर्षरत छौँ। ओलीको कदमको अन्त्य नभएसम्म हाम्रो संघर्ष जारी रहन्छ।’




