काठमडाैं, २७ पुष । भारतीय टेलिभिजन च्यानल जी न्युजका प्रधानसम्पादक सुधीर चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता लिएका छन् । शनिबार तीन जनाको टोलीसहित काठमाडौं ओर्लिएका सुधीरले आइतबार बालुवाटार पुगेर ओलीको अन्तर्वार्ता लिएका हुन् ।
प्रधानमन्त्री ओलीसँगको कुराकानीपछि सुधीरले फेसबुकमा लेखेका छन्, ‘छिमेकमा के चलिरहेको छ भनेर थाहा पाउनु महत्त्वपूर्ण हो । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग राम्रो कुराकानी भयो । अब नेपालले भारतलाई किन ठूल्दाजुका रुपमा व्यवहार गर्न चाहँदैन भन्ने बारेमा पनि कुरा भयो ।’
नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि भारतीय टेलिभिजन च्यानल जी न्युजलगायतले विवादित सामग्री प्रकाशित गरेका थिए । जी न्युजले ‘राष्ट्रवाद के नामपर नेपालकी चाइनिज नक्सेबाजी’ भनेर कार्यक्रम प्रसारण गरेको थियो । जुन कार्यक्रम सुधीरले नै सञ्चालन गरेका थिए । जी न्युजले पटक–पटक नेपालका बारेमा विवादित सामग्री प्रसारण गर्दैै आएको छ ।
जी न्युजले के प्रसारण गरेकाे थियाे ?
गत असारमा प्रधानमन्त्री ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको विषयमा काल्पनिक कथा बुन्दै सो टीभीले कूटनीतिक मर्यादासमेत ख्याल नगरिकन अनर्गल प्रचार गरेकाे थियाे । ‘ओली कि इश्किया’ शीर्षकमा प्रशारित रिपोर्टमा चिनियाँ राजदूत यान्छीलाई ‘विषकन्या’ को संज्ञा दिँदै भारतीय टीभीले उनैको जालमा फसेर ओलीले भारत विरोधी कदम चालिरहेको भनेको थियाे ।
आपत्तिजनक शब्द प्रयोग गर्दै रिपोर्टमा भनिएको थियाे, ‘केपी ओली ने अपने दिलके हसरतोंको उडान देनेका लिए यान्की से नजदिकीया बढायी, लेकिन वा हनी ट्र्याप मे फसगए ।’
राजदूत यान्छीकै आग्रहमा फसेर ओलीले भारतका तीन क्षेत्रहरुमाथि दाबी गर्दै आफ्नो नयाँ नक्शा प्रकाशित गरेको दाबीसमेत गरिएको थियाे । उसले ओलीको ‘निजी एमएमएस’ चीनको हातमा रहेको र त्यसैलाई लिएर ओलीसँग चीनले ब्ल्याकमेलिङ गरिरहेको भन्नसमेत भ्याएको थियाे ।
उक्त रिपोर्टमा नेपालमा भएको ‘इनफ इज इनफ’ आन्दोलनका फुटेजहरुलाई अपव्याख्याका साथ प्रयोग गरिएको थियाे । त्यसपछि केही समयकाे लागि असार २६ गते नेपालमा भारतीय टेलिभिजनहरुको प्रसारण बन्द गरिएको थियाे।




