काठमाडौं, २६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई धम्कि दिएको बारे बाहिरिएको छ।
मिश्रले आफूलाई धम्की भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् । उनले लेखेका छन्, “धम्की नै धम्की प्रधानमन्त्री ओली पूर्वप्रधानन्यायाधीश तथा अन्य आलोचकप्रति धम्कीपूर्ण भाषा प्रयोग गर्ने । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार मलाई धम्कीपूर्ण भाषा प्रयोग गर्ने । मैले तलको टिप्पणी गरेपछि उहाँले ट्विटरमा सीमामा बस्न चेतावनी दिनुभएको हो ।”
शनिबार साँझ मिश्रले प्रधानमन्त्रीप्रति आक्रोशित हुँदै ट्विट गरेका थिए । त्यसपछि सामाजिक सञ्जाल ट्विटरमा मिश्र ररिमालबीच ट्विटमा सवालजवाफ चल्यो । मिश्रले लेखाका थिए , ‘कस्तो समय आयो ? पूर्व प्रधानन्यायाधीशहरूले विचाराधीन मुद्दामा बोल्नु पर्ने । प्रधानमन्त्री/राष्ट्रपतिले संविधान खुल्लमखुल्ला कुल्चिने । काण्डैकाण्ड गर्ने प्रधानमन्त्रीको भाषण सुन्न हजारौं जम्मा हुने । महाभ्रष्ट नेताले भ्रष्टाचारविरुद्ध र्याली आह्वान गर्दा हजारौं सरीक हुने । अब अति भो !’
सो ट्विटमा रिमालले जवाफ दिँदै भनेका छन्, ‘ सीमामा बस्नुस् रवीन्द्र जी १ तपाईंको यो ट्वीट टिप्पणी गर्न पनि उपयुक्त छैन । यति चाहि भनुँ– मर्यादा नाघ्ने जोसुकै जतिसुकै सेलिब्रिटी भए पनि त्यससँग समयले जवाफ माग्ने छ ।’
त्यसको जवाफमा रवीन्द्र मिश्रले ‘प्रिय विष्णु रिमाल जी, देशको प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले आमरुपमा र देशका विशिष्ट व्यक्तित्वहरूले गरिरहेको टिप्पणीलाई नै दोहोर्याउँदा ‘सीमामा बस्नुस्’ भनेर धम्कीपूर्ण भाषा प्रयोग गर्नु उपयुक्त हुँदैन थियो। विमती जनाउनुभएको भए भइहाल्थ्यो । सानो सुझाव मात्र ।’ भनेर लेखेका थिए ।





