कैलाली, २४ पुष । प्रधानमन्त्री केपी ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई मध्यावधि निर्वाचनमा १० सिट जितेर देखाउन चुनौती दिएका छन् । कैलालीको धनगढीमा शुक्रबार आयोजित आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशभरबाट १० सिट जितेर देखाउन चुनौती दिएका हुन् ।
दाहाल र नेपालले पार्टी विभाजन गरेको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले उनीहरूलाई भगौडाको संज्ञा दिए । पार्टी छाडेर गएका भगौडाहरुको कुरा नसुन्न उनले आग्रह गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन असंवैधानिक भन्नेहरूलाई संविधान पढ्न सुझाव पनि दिए । आफू ६४ प्रतिशतको प्रतिनिधित्व गर्ने सर्वसम्मत प्रधानमन्त्री रहेको ओलीको जिकिर थियो । देशका लागि काम गर्न नदिएपछि ताजा जनादेशमा जान आफुले विघटनको सिफारिस गरेको भन्दै उनले संसदमा आफ्नो विकल्प नभएको जिकिर गरे ।
कतिपयले केपी ओलीले चुनाव गर्दैन भनेको भन्दै उनले चुनाव वैशाख १७ र २७ गते नै ठोकुवा गरे । चुनावको तयारीमा लाग्न कार्यकर्तालाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले खराब तत्वहरूलाई गाउँमै ठेगान नलगाए माथि गएर हैरान पार्ने बताए ।
सुदूरपश्चिम प्रदेशलाई अब कसैले पछाडि पार्न नसक्ने भन्दै प्रधानमन्त्री ओलीले माघ १ गते परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली भारत भ्रमणमा गएर गौरीफन्टा नाकालाई अन्तर्राष्ट्रिय नाका बनाउन प्रस्ताव गर्ने जानकारी दिए ।




