काठमाडौं, २३ पुष । नेपाल कम्युनिष्ट पार्टी नेकपाकी राष्ट्रिय सभा सदस्य कोमल वलीले अमेरिकाको संसदमा भएको घटना राष्ट्रिय सभा बैठकमा उठाएकी छन्।
अमेरिकी संसदमा हिंसात्मक घटना हुँदा चार जनाको मृत्यु भइसकेकाले यसले संसदीय व्यवस्थालाई सर्वोपरि ठान्ने मुलुकलाई थप चुनौती र चिन्ताको वातावरण बनाइदिएको उनले बताइन्।

‘अमेरिकी संसदमा जुन हिंसात्मक गतिविधि भयो त्यसले विश्वमै प्रजातन्त्रमाथि खतरा उत्पन्न गराएको छ,’ उनले भनिन्, ‘चार जनाको ज्यान जाने गरी वासिङ्टन डिसीमा भएको हिंसाले संसदीय व्यवस्थालाई सर्वोपरि ठान्ने मुलुकलाई थप चुनौती र चिन्ताको वातावरण बनाइदिएको छ।’
उनले यस्ता घटनाले सत्ता शान्तिपूर्ण हस्तान्तरण गर्ने प्रक्रिया र लोकतन्त्रमाथि नै खतरा उत्पन्न गराउने बताइन्।
‘सत्ताको शान्तिपूर्ण हस्तान्तरण प्रक्रियालाई यस्तै गैरकानुनी विरोधले लोकतान्त्रिक प्रक्रियामाथि खतरा उत्पन्न गराउँछ। म कडा शब्दमा विरोध गर्दछु,’ उनले भनिन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले बुधबार वासिङ्टनस्थित संसद भवनमा फैलाएको हिंसामा परी चार जनाको मृत्यु भएको थियो।




