एजेन्सी, २३ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले संसद भवनमा फैलाएको हिंसामा परी ज्यान जानेको संख्या चार पुगेको छ।
ट्रम्पका समर्थकहरुले बुधबार वासिङ्टनस्थित संसद भवनमा छिरेर तोडफोड गरेका हुन् । मेट्रो डिसी प्रहरीले १ जना महिलाको गोली लागेर मृत्यु भएको छ भने अर्की एक महिला र दुई पुरूषको अन्य स्वास्थ्य समस्याका कारण मृत्यु भएको जनाइएको छ ।
बीबीका अनुसार अहिलेसम्म सुरक्षाकर्मीले ५२ जनालाई पक्राउ गरेका छन् । तीमध्ये ४७ जनालाई कर्फ्यू उल्लंघनको आरोपमा समातिएको हो ।
संसद भवनभित्र दुई वटा पाइप बम पनि फेला परेको अधिकारीहरूले बताएका छन् । वासिङ्टन डिसीका मेयर मुरियल बोउजरले नगरमा १५ दिनका लागि कर्फ्यू लगाएका छन् ।

गएको नोभेम्बर ३ मा भएको चुनावमा राष्ट्रपतिमा विजयी भएका जो बाइडेन (डेमोक्र्याट) तथा उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसको इलेक्टोलर कलेज मतलाई आधिकारिकता प्रदान गर्न सदनको संयुक्त बैठक बसिरहेका समयामा ट्रम्प समर्थक सुरक्षा बार तोड्दै भवनभित्र पसेका थिए ।




