काठमाडौं, २३ पुस। भारतमा देखिएको बर्ड फ्लू रोगका कारण भारतको विभिन्न राज्यमा हाँस तथा चराहरू मर्न थालेका छन् ।
भारतमा चराहरू मर्न थालेपछि नेपालले सुरक्षा सतर्कताका लागि दक्षिणी नाकामा कडाइ गर्ने भएको छ । नेपालमा बर्ड फ्लू फैलिन नदिनका लागि नाकामा कडाइ गर्ने तयारी गर्न लागेको हो ।
भारतसँग सिमाना जोडिएका तराईका जिल्लाहरूमा सुरक्षा सर्तकता अपनाउन जिल्ला पशु कार्यालयलगायत सम्बद्ध निकायमा खबर गरिसकेको मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार जिल्ला तथा स्थानीय निकायहरूलाई सुरक्षा व्यवस्थाका लागि आवश्यक पर्ने थप जनशक्ति तथा मेशिनरी सामग्रीहरू चाहिएमा पनि जानकारी गराउन निर्देशन दिइसकेको छ ।
नेपालमा बर्ड फ्लूको संक्रमण आउन नदिन तथा आइहालेमा रोकथामका प्रक्रिया अघि बढाउने बारेमा योजना बनाउन पशुसेवा विभागले समेत तयारी थालेको बताइएको छ ।
भारतको उत्तरी राज्य हिमाचल प्रदेशदेखि केरला, इन्दोर, हरियाणालगायत क्षेत्रमा समेत बर्ड प्mलूको ठूलो असर देखिएपछि त्यहाँको संघीय सरकारले संक्रमणलाई थप फैलिन नदिन उच्च सर्तकता अपनाउनुका साथै अल्पकालीन उपायहरू समेत अवलम्बन गर्न थालेको छ ।
उत्तरी राज्य हिमाचल प्रदेशमा साइबेरिया र मङ्गोलियाबाट बसाइसराई गर्दै आएका झन्डै २,४०० चराहरू खोया हाँसहरू मरेको पाइएको बीबीसी हिन्दीले जनाएको छ।

त्यस्तै केरला राज्यमा समेत १२,००० हाँसहरू मरेपछि राज्यको मापदण्ड अनुसार विभिन्न ३६,००० पन्छीहरू मारिएको छ। मध्य प्रदेशमा पछिल्लो १० दिनमा सयौँ कौवाहरू मरेका पाइएकामा हालै बकुल्ला र सुगाहरू समेत त्यसमा थपिएका छन्।
त्यहाँको इन्दोर सहरमा ५० वटा मरेका कौवाहरू भेटिएपछि अधिकारीहरूले आसपासमा रुघाखोकी र ज्वरो आएका मानिसहरू छन् किन भनेर जाँच गरेका थिए। हरियाणा राज्यमा समेत हजारौँ पालिएका पन्छी मरे पनि त्यो बर्ड फ्लू नै भएरनभएको पुष्टि भएको छैन।
्




