काठमाडौं, २० पुस। बैतडीमा ट्याक्टर दुर्घटना भई एकजनाको मृत्यु भएको छ भने अरू दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा ट्याक्टरमा सवार बझाङको चिरबित्थड गाउँपालिका–४ का ४० वर्षीय जितबहादुर बोहरा रहेको छ ।

सिगास गाउँपालिका–९ बजपानीस्थित सडकमा अन टेष्ट लेखिएको ट्याक्टर सडकबाट करिब १ सय ५० मिटर तल खसेर सोमबार बिहान दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएका ट्याक्टर चालक चिरबित्थड गाउँपालिका–५ बस्ने ३२ वर्षीय नरेन्द्र महरा लगायत २ जनाको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको जनाएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताए ।




