जलेश्वर, १८ पुस । शहरी विकासमन्त्री प्रभु साहले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जनतामाथि विश्वास नरहेको बताउएको छ । महोत्तरीको जलेश्वरमा आज आयोजित नेकपा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलामा मन्त्री साहले प्रचण्डले व्यक्तिगत स्वार्थको कारण संसद् विघटन गराउने अवस्था पैदा गरेको आरोप लगाएका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई महाधिवेशनमार्फत पार्टीको अध्यक्ष तथा जनतामार्फत नै देशको प्रधानमन्त्री चुन्न पटक–पटक आग्रह गर्दा नमानेकाले संसद् विघटन गर्नुपरेको जिकिर गरेका छन् ।
सोही भेलालाई सम्बोधन गर्दै कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले प्रधानमन्त्री ओलीले देशको संविधानमा व्यवस्था भएअनुसार नै संसद् विघटन गर्नुभएको बताएका छन् । उनले देशको संविधान, राष्ट्रियता, जनताको हकअधिकार तथा जनादेशको रक्षाका लागि प्रधानमन्त्री ओलीले संसद् विघटन गर्नुभएको र उनको यस कदमलाई सबैले सकारात्मकरूपमा लिएर सबैलाई चुनावमा जान आग्रह गरेका छन् ।




