मकवानपुर, १७ पुष । वाग्मती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आजको बैठकले प्रदेशसभाको सातौँ बैठक (अधिवेशन) आगामी माघ ७ गते आह्वान गर्न प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री डोरमणि पौडेलका अध्यक्षतामा बसेको बैठकले चितवन जिल्लास्थित राप्ती नगरपालिकाको आफ्नै प्रशासकीय भवन निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउन सम्बन्धित निकायलाई पत्राचार गर्ने र यथाशीघ्र कार्यान्वयनका लागि अनुरोध गर्ने पनि निर्णय गरेको मन्त्रिपरिषद्का प्रवक्ता कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए ।

गत साउन ८ गते वर्षे अधिवेशन स्थगित भएयता प्रदेशसभाको बैठक बस्न सकेको छैन । सत्तारुढ दल नेकपा भित्रको आन्तरिक विवादको असर प्रदेश सरकारमै देखा परिसकेको अवस्थामा मन्त्रिपरिषद् बैठकले प्रदेश सभा बैठक बोलाउन सिफारिस गरेको हो ।




