जनकपुरधाम, १७ पुस। धनुषामा हराएको एक बालकको हत्या गरी शव गाडिएको अवस्थामा फेला परेको छ । जिल्लाको बिदेह नगरपालिका–२ का ५ वर्षीय बालक अभिनवकुमार रायको शव गाडिएको अवस्थामा शुक्रबार बिहान फेला परेको धनुषाका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

उनका अनुसार बालक हराएका दुई दिन भएका थिए । खोजी गर्ने क्रममा बालकको शव उनकै हजुरबुवा पर्नेको गोठमा गाडिएको अवस्थामा फेला परेको बताए ।
‘सुरुवाती क्रममा उनको घाँटी थिचेर हत्या गरेको देखिन्छ’ मिश्रले भने, “शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएका छौं । रिपोर्ट आएपछि अन्य अनुसन्धान अगाडि बढ्छ ।’
बालकको शव फेला परेपछि तत्काल अनुसन्धानका लागि प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुसँग सोधबुझ भइरहेको बताएको छ ।




