काठमाडौं, १६ पुस । मन्त्रिपरिषद् विस्तारविरूद्ध सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ आज बिहीबार हुँदै छ ।
संसद विघटनपछि कामचलाउ प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् विस्तारविरूद्ध सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ आज हुने भएको हो ।
यही पुस १३ गते वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता लोकेन्द्र ओली र अधिवक्ता केशरजंग केसीले दर्ता गराएका थिए । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको उक्त रिट हेर्न नभ्याउने सूचीमा राखिएको थियो ।
सो पेसी बुधबार हेर्न नभ्याउने सूचीमा राखेको भए पनि अर्को पेसी आजका लागि तोकिएको हो । रिटमा मन्त्रिपरिषद विस्तार अवैधानिक रहेको भन्दै खारेज गर्न माग गरिएको छ ।

अधिवक्ताहरू त्रिपाठी, ओली र केसीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रपति कार्यालयलाई विपक्षी बनाएर रिट दर्ता गरेका हुन् ।




