काठमाडौं, १४ पुष । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संसदीय दलका उपनेता शालिकराम जमरकट्टेल र प्रमुख सचेतक बुद्धिमान माझीलाई हटाएका छन्। मंगलबार मुख्यमन्त्री पौडेलले जमरकट्टेल र प्रमुख सचेतक माझीलाई हटाएका हुन्।
मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै तीन मन्त्रीले राजीनामा दिएका थिए। आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमरकट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरूणप्रसाद नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलालले राजीनामा दिएका थिए।

नेकपाका ४५ जना सांसदले हस्ताक्षरसहित शुक्रबार अविश्वासको प्रस्ताव दर्ता भएको थियो। उनीहरुले प्रदेश इन्चार्ज अष्टलक्ष्मी शााक्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेका छन्। आफूविरुद्ध अविश्वासको प्रस्ताव आएपछि मुख्यमन्त्री पौडेलले दुई नेताहरुलाई पदबाट हटाएका हुन्।




