दाङ, ८ पुष । नेकपा दाङका अध्यक्ष टीकाराम खड्काले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली समूहको केन्द्रीय सदस्य अस्वीकार गरेका छन्।
केपी समूहले मंगलबार सार्वजनिक गरेको केन्द्रीय सदस्यको लिष्टमा दाङबाट अध्यक्ष खड्कासहित १८ जनाको नाम समावेश भए पनि त्यो पद उनले अस्वीकार गरेको स्रोतले बताएको छ।
‘ओली समूहले टीकाराम खड्काको नाम आफू खुसी राखेका रहेछन्,’ उनी निकट मानिने एक नेताले भने, ‘त्यो थाहा पाउना साथ उहाँले विज्ञप्ति प्रकाशित गरी ओली कदमको विरोध गरिसक्नुभएको छ। उहाँ त्यता जाने भन्ने कुरै आउँदैन।’

दाङको तुलसीपुर निवासी ओली समूहका एक केन्द्रीय सदस्य मिलन चौधरीका अनुसार नेकपा दाङका अध्यक्ष खड्काबाहेक अन्य सबै मनोनित केन्द्रीय सदस्यहरू लगभग सबै काठमाडौं पुगिसकेका छन्।
आफूले बुझे अनुसार खड्काले केन्द्रीय सदस्य बन्न अस्वीकार गरेको चौधरीले बताए। ‘म पनि काठमाडौं आइसकेको छु,’ चौधरीले भने, ‘टीकाराम खड्काबाहेक अन्य सबै लगभग काठमाडौं आइसक्नु भएको छ।’ ओली समूहले बिहीबार आफ्नो पक्षका केन्द्रीय सदस्यहरूलाई सपथ खुवाउने कार्यक्रम तय गरेको छ।
‘बिहीबार दिउँसो १ बजे सपथका लागि हामीलाई बोलाइएको छ,’ चौधरीले भने, ‘त्यसैको लागि म लगायत दाङबाट केन्द्रीय सदस्य बनाइएका अधिकांश काठमाडौं आइसकेका छौं।’ ओली समूहले आफ्ना नयाँ मनोनित केन्द्रीय सदस्यहरूलाई प्रशिक्षण पनि दिएको छ।




