काठमाडाैं, ६ पुष । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता महेश बस्नेतले अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड गुटले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि षड्यन्त्र गरेको आरोप लगाएका छन् ।
आइतबार बसेको नेकपा स्थायी कमिटी बैठकले प्रधानमन्त्री तथा पार्टी ओलीमाथि अनुशासनको कारबाहीका लागि केन्द्रीय समितिमा प्रस्ताव लैजाने निर्णय गरेको थियो । उक्त निर्णयप्रति नेता बस्नेतले आपत्ति जनाएका हुन् ।
सामाजिक सञ्जालमा नेता बस्नेतले लेखेका छन्- ‘घरमा पाउना लाग्न आएका व्यक्तिले छोरा-छोरी मध्यको लोभी-पापी छोराको आड लिएर घरको ढुकुटी चोरेर, कब्जा गर्न खोज्दा सावधानी गरेबापत घरमुलीलाई घरबाट निकालेको जास्तै नौटंकी हो यो, कथित स्थायी कमिटीरुपि प्रचण्ड गुटको षड्यन्त्र ।’

नेता बस्नेतले प्रचण्ड गुटकाे चरित्र चार्ली चाप्लिङ्गलाई माथ खुवाउने भएको समेत आरोप लगाएका छन् । उनले लेखेका छन्- ‘केपी ओली कम्युनिष्ट पार्टीको सदस्यता लिएको १० वर्ष पछाडि राजनीतिमा लागेका प्रचण्डले पूर्व एमालेको गुटको आडमा प्रधानमन्त्रीलाई कार्बाही रे ! विश्वको सबैभन्दा ठूलो प्रहसन मंचन हुँदैछ । चार्ली चाप्लिङ्ग माथ खाने भए अब ।’
उनले आकाशतिर फर्केर थुक्दा आफ्नै मुखमा पर्ने र आउँदो चुनावपछाडि प्रचण्डकाे हैसियत हेर्ने समेत बताए । उनले लेखेका छन्- ‘आउँदो चुनावपछाडि प्रचण्डको हैसियत हेरौंला । कारबाही खाने कुकर्म गरेका मित्रहरु हेर्दै जानुहोला, अनि कार्बाही कसले कसलाई गर्छ समयले बताउने छ । आकाश तिर फर्केर थुक्दै छौँ, थुक तिम्रै मुखमा पर्नेछ । तिम्रा कथित स्थायी र केन्द्रिय कमिटी रोपि गुटको निर्णय आम नेकपाको नेता कार्यकर्ताले धोती लगाइदिनेछन् ।




