काठमाडौं, २ पुस । स्वास्थ्य सामग्री खरिदमा अनियमितताको आशंकामा छानबिन गरिरहेको संसदको सार्वजनिक लेखा समितिले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई छलफलका लागि बोलाएको छ ।
शुक्रबार दिउँसो १ बजे बस्ने बैठकमा स्वास्थ्यमन्त्रीलाई बोलाइएको लेखा समिति सभापति भरतकुमार शाहले जानकारी दिएका छन् । समितिले चार महिनाअघि नै यस विषयमा छलफलका लागि मन्त्री ढकाललाई बोलाउने निर्णय गरेको थियो । तर अहिले मन्त्रीसँगको सल्लाहमा उनको समय मिलेपछि नै बोलाइएको सभापति शाहले बताएका छन् ।

२०७६ चैतमा चीनबाट स्वास्थ्य सामाग्री खरिदको जिम्मा सरकारले ओम्नी बिजनेस ग्रुप अफ कम्पनीलाई दिएको थियो । तर कानुनी प्रावधान पलना नगरी अनुभवहीन कम्पनीलाई स्वास्थ्य सामग्री खरिदको जिम्मा दिइएको भन्दै विरोध भएको थियो । तर सम्झौता बमोजिम स्वास्थ्य सामाग्री नेपाल नल्याउँदै सरकारले एकतर्फी रुपमा खरिद सम्झौता भङ्ग भएको घोषणा गरेको थियो ।




