काठमाडौं, १ पुस । नेपाल तरुण दलले राष्ट्रपतिको भूमिका प्रधानमन्त्रीको कारिन्दा र संविधानको भक्षकको जस्तो देखिएको भन्दै आपत्ति जनाएको छ । अध्यक्ष जितजंग बस्नेतले विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको भूमिकामाथि प्रश्न उठाएका हुन् ।
प्रमुख प्रतिपक्षी दललगायत विपक्षी दलले संसद बैठकको माग गरिरहेको बेला महिनौंदेखि संसद्लाई बन्धक बनाएर , उपसभामुख पद खाली राखेर प्रधानमन्त्रीले आफ्नो स्वेच्छाचारी तरिकाले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अलोकतान्त्रिक, संविधानको मर्म र भावनाविपरीत रहेको पनि विज्ञप्तिमा जनाइएको छ ।

‘‘सम्माननीय राष्ट्रपतिज्यूको भूमिका सबै नागरिकको अभिभावक हुनुपर्नेमा प्रधानमन्त्रीको कारिन्दा र संविधानको भक्षक जस्तो देखिन आएको हुँदा राष्ट्रपतिलाई महाअभियोग र प्रधानमन्त्रीलाई अबिश्वासको प्रस्तावबाट पदबाट हटाई मुलुकलाई संकटबाट मुक्त गर्न नेपाल तरुण दल केन्द्रीय समिति जोडदार माग गर्दछ,’’ विज्ञप्तिमा भनिएको छ, ‘‘हाम्रो माउ पार्टी नेपाली कांग्रेसले सर्वसत्तावादविरुद्ध सडक संघर्ष सुरु गरिसकेको र आन्दोलन अझै सशक्त हुने जानकारीसमेत गराउँछौं ।’’
त्यस्तै तरुण दलले अध्यादेश फिर्ता लिन र अध्यादेशका आधारमा कुनै निर्णय नगर्न पनि सरकारलाई सचेत गराएको छ ।




