काठमाडौं, १ पुस । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच पुन भेटवार्ता भएको छ। दिउँसो १ बजेको लागि डाकिएको स्थायी कमिटीको बैठकमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ओलीलाई भेट्न बैठक स्थलबाट बाहिरिएका हुन्।
यसअघि एक घण्टाअघि मात्रै ओलीलाई भेटेर बैठक स्थलमा आएका प्रचण्ड पुन भेट गर्न गएको प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंले जानकारी दिए। ‘दुई अध्यक्षबीच भेटघाट सुरु भएको छ,’ बजगाईंले भने। ओलीलाई भेट्न प्रचण्ड २ः३० बजे ओलीको कार्यकक्षमा पुगेका थिए।

यस अघिको भेटमा प्रचण्डले सचिवालयमा पेश गरेको राजनीतिक प्रस्ताव फिर्ता नहुँदासम्म बैठकमा नजाने अडान ओलीले राखेका थिए। मंसिर २१ गते देखि सुरु भएको स्थायी कमिटीको बैठकमा पार्टीका दुई अध्यक्षहरू ओली र दाहाल पार्टी सचिवालय बैठकमा पेश गरेको प्रस्तावमाथि छलफल हुने बताए पनि छलफल हुन सकेको छैन।
आज बस्ने बैठकमा सरकारले हिजो (मंगलबार) जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेशमाथि छलफल हुने तयारी छ। प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, वामदेव गौतमले हिजै छलफल गरेर आपत्ति जनाइसकेका छन्।
उनीहरुले अध्यादेश फिर्ता गर्नुपर्ने माग राखेका छन्। दाहाल–नेपाल पक्षले सरकारले जारी गरेको अध्यादेशलाई असंवैधानिक भन्दै खारेजीको माग गरेका छन्। यता स्थायी कमिटी सदस्यहरु भीम रावल, पम्फा भुसाल सहितको नेकपाका सांसदहरु संसद अधिवेशनको माग गर्दै राष्ट्रपति निवास पुगेका छन्।




