काठमाडौं, ३० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषदको बैठक सकिएको छ। करिब अढाई घण्टा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद्को बैठक सकिएको बालुवाटार स्रोतले जानकारी दिएको छ।
बैठकमा प्रधानमन्त्री ओलीसहित राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा सहभागी थिए।
विभिन्न संवैधानिक निकायका पदाधिकारी लामो समयदेखि रिक्त भएपछि तिनमा सिफारिस गर्नका लागि बैठकले सिफारिस गरेको आँकलन गरिएको छ। तर यसबारे औपचारिक रूपमा विषय सार्वजनिक गरिएको छैन।

पुरानो व्यवस्थाअनुसार बोलाइएको संवैधानिक परिषद्को बैठक नयाँ अध्यादेशको व्यवस्थाअनुसार बसेको हो। संवैधानिक परिषद्को बैठकलाई नै दृष्टिगत गरी नयाँ अध्यादेश ल्याइएको थियो।
मन्त्रिपरिषद्को सिफारिसमा मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७’ जारी गरेकी थिइन्।
यसअघि परिषद्को बैठकमा प्रधानमन्त्री, प्रधानन्यायधीश, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष र प्रमुख प्रतिपक्ष दलका नेता गरी ६ जना सहभागी हुने व्यवस्था थियो। जसमा ५ सदस्य उपस्थित भएपछि मात्रै निर्णय गर्न पाउने व्यवस्था थियो। तर त्यस व्यवस्थालाई उल्टाउँदै तीन सदस्य उपस्थित भए मात्रै पनि नियुक्त गर्न सक्ने व्यवस्था अध्यादेशमा गरिएको छ।
मंगलबार बिहान बोलाइएको परिषद बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि कोरम नपुगी बैठक स्थगित भएको थियो। बैठक स्थगित भएपछि मन्त्रिपरिषद्को सिफारिसमा नयाँ अध्यादेश ल्याएर तीन सदस्य मात्रै उपस्थित भएपनि निर्णय गर्न पाउने व्यवस्था गरिएको हो।




