काठमाडाैं, ३० मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ। बैठक बुधबार दिउँसो १ बजे देउवा निवासमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
‘उक्त बैठकमा अध्यादेशपछिको अवस्थाबारे छलफल हुनेछ’, उनले भने। उक्त बैठकमा पदाधिकारी र पूर्वपदाधिकारी सहभागी हुनेछ।

कोरम नपुगेर पटक-पटक संवैधानिक परिषद् बैठक स्थगित भएपछि सरकारले मंगलबार राष्ट्रपतिसमक्ष संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्न सिफारिस गरेको थियो। लगत्तै राष्ट्रपतिले अध्यादेश जारी गरेकी थिइन्।
उक्त अध्यादेशमा परिषद् बैठकका लागि गणपुरक संख्या ३ जनामात्र भए पनि हुने उल्लेख छ। यसअघि बैठक बस्नको लागि परिषद् अध्यक्ष र कम्तिमा चार जना उपस्थित हुनुपर्ने प्रावधान थियो।
मंगलबार बिहान बसेको परिषद् बैठकमा अध्यादेश जारी मान्य नहुने देउवाले बताएका थिए। उक्त अध्यादेश जारी भएसँगै चौतर्फी विरोध भइरहेको छ।




