काठमाडौं, ३० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेपछि नेकपा विवाद उत्कर्षमा पुगेको छ।
प्रधानमन्त्री ओलीले पार्टीमा सल्लाह नै नगरी अध्यादेश जारी गरेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूनिकट नेतासँग छलफल थालेका छन्।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकबाट निर्णय गराएर संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेपछि अध्यक्ष दाहालसहित सचिवालयका बहुमत सदस्य खुमलटारमा पुगेका हुन्।

सचिवालय सदस्यहरुको बैठक वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायत नेताहरु खुमलटारमा पुगेका स्रोतले बताएको छ।
ओलीले आफूखुसी अध्यादेश जारी गरेपछि अध्यक्ष दाहालले त्यसको फिर्ता हुनुपर्ने माग गरिरहेका छन्। अध्यक्ष दाहालसहित नेकपाका बहुमत नेता र प्रतिपक्षी दलले समेत त्यसको विरोध गरिरहेका छन्।
ओलीले यसअघि वैशाख ८ गते पनि पार्टी विभाजनसम्बन्धी अध्यादेश ल्याएका थिए। तर, चौतर्फी विरोधपछि वैशाख १२ मा फिर्ता लिएका थिए।




