काठमाडौं, ३० मंसिर । काठमाडौंमा आन्दोलनरत उखु किसानहरुले सरकारसँग वार्ताका लागि दुई बुँदे शर्त अगाडि सारेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वार्ताका लागि पत्र पठाएपछि उखु किसान संघर्ष समिति, सर्लाहीले शर्त राखेको हो ।
मन्त्रालयले पैसा सबै भुक्तानी गर्ने मिति निश्चित गर्नुपर्ने र प्रधानमन्त्री राहत कोष वा अन्य कुनै स्रोतबाट सरकारले किसानको बक्यौता भुक्तानी गर्नुपर्ने आफूहरुको शर्त भएको संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले जानकारी दिएका छन् । यता आजै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले काठमाडौंमा आन्दोलनका लागि आएकाहरु किसान नभई उद्योगीहरु भएको बताएका थिए ।

यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उखु किसानको आन्दोलनमा समर्थन जनाएको छ । गत आइतबारदेखि काठमाडौंको माइतीघरमा भइरहेको किसानहरुको आन्दोलनमा मंगलबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा पुगेर ऐक्यवद्धता जनाएका हुन् । उनले किसानसँगै धर्नामा बसेर आन्दोलनमा ऐक्यवद्धता जनाएका हुन् ।
चिनी मिलले आफूहरुसँग किनेको उखुको मूल्य वर्षौंदेखि नपाएको भन्दै किसानहरु भुक्तानी पाउनुपर्ने माग राखेर आन्दोलनमा उत्रिएका हुन् । चिनी मिलबाट किसानहरुले करिब ८० करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ ।




