काठमाडाैं, २९ मंसिर । आन्दोलनरत उखु किसानले सरकारसँग वार्ता गर्न अस्वीकार गरेका छन् । उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री लेखराज भट्टले आज उद्योगीसहित आन्दोलनरत किसानलाई छलफलका लागि मन्त्रालयमा बोलाएका थिए । तर उनीहरु आउन नमानेको मन्त्रालय स्रोतले जनाएको छ ।
मन्त्री भट्टले उद्योगीहरुसँग भने मन्त्रालयमा छलफल गरेका छन् । सो क्रममा उद्योगीहरुले किसानको बक्यौता रकम भुक्तानी गर्ने प्रतिवद्धता जनाएको बताइएको छ । विभिन्न उद्योगहरुबाट ८० करोडभन्दा बढी रकम दिन बाँकी रहेको भएपनि किसानले अझै पाएका छैनन् ।

मंसिर ९ गते पनि मन्त्री भट्टले उद्योगीसँग छलफल गरेका थिए । त्यो छलफलमा पनि उनीहरुले एक महिनाभित्र किसानको बक्यौता रकम भुक्तानी गर्ने प्रतिवद्धता जनाएका थिए । त्यो प्रतिवद्धता जनाएको एक महिना नपुग्दै किसानहरुले आन्दोलन शुरु गरेका हुन् ।
आजको छलफलमा पनि उद्योगीले छिट्टै किसानको बक्यौता रकम बुझाउने प्रतिवद्धता जनाएको मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले बताइन् । मन्त्री भट्टलले किसानलाई दिनुपर्ने रकम कुन अवस्थामा छ, कति तिर्नु पर्ने हो सबै कुरा उल्लेख गरि सार्वजनिक गर्न उद्योगीहरुलाई आग्रह गरेका छन् ।
मन्त्री भट्टले उद्योगीलाई भने, ‘तपाईंहरुले मन्त्रालयलाई भनेको कुरा पब्लिकलाई जानकारी गराउनुस्, तपाईंहरुको के समस्या छ, के कारणले तपाईंहरुले रकम तिर्न सकिरहनु भएको छैन, कहिलेसम्म कति रकम तिर्नु हुन्छ, ती सबै कुरा सार्वजनिक गर्नुस् ।’
उद्योगीहरुले आज नभए भोलिसम्ममा सबै सार्वजनिक गर्ने प्रतिवद्धता जनाएको मन्त्रालयले जनाएको छ ।




