काठमाडाैं, २९ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज (सोमबार) काठमाडाैंमा सरकारविरुद्ध नेता कार्यकर्तालाई सडकमा उतारेकाे छ । सत्तारुढ दल नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध कांग्रेस सडक आन्दोलनमा उत्रिएको हो ।
विरोध र्यालीमा सहभागीहरुले प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गरेका छन् । प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । सरकार भ्रष्ट्राचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै कांग्रेसले देशव्यापी विरोध प्रदर्शन आयोजना गरेको हो ।

जुलुस रत्नपार्कमा पुगेपछि बागबजार– पुतलीसडक– कमलादी– त्रिचन्द्र क्याम्पस हुँदै शान्तिबाटिकामा पुगेर विरोध सभा हुने बताइएको छ। काठमाडौको क्षेत्र अनुसार जुलुसमा सहभागी हुने स्थान निर्धारण गरिएको छ ।
कांग्रेसका शीर्ष नेताहरु विरोध प्रदर्शनका लागि देशका विभिन्न जिल्लामा पुगेका छन् । सभापति शेरबहादुर देउवा मकवानपुर पुगेका पुगेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाडौंको शान्तिवाटिकामा सम्बोधन गर्दै छन् ।
विरोध प्रदर्शनका लागि उपसभापति विमलेन्द्र निधि भक्तपुर, महामन्त्री डा. शशांक कोइराला मोरङ, सहमहामन्त्री डा. प्रकाशशरण महत झापा, सहमहामन्त्री सुनिलबहादुर थापा धनकुटामा पुगेका छन् ।
यस्तै पूर्वउपसभापति गोपालमान श्रेष्ठ काभ्रेपलाञ्चोक, पूर्व महामन्त्री प्रकाशमान सिंह धनुषा, पूर्व सहमहामन्त्री अजुर्ननरसिंह केसी कास्की, केन्द्रीय सदस्य डा. रामशरण महत चितवन, पूर्व कोषाध्यक्ष चित्रलेखा यादव सप्तरी, युवा नेता गगन थापा कैलाली पुगेका छन् ।





