काठमाडौं, २८ मंसिर । नेपाल कम्युनिस्ट पार्टी नेकपाको निमन्त्रणामा नेपाल आइ विभिन्न व्यक्तिलाई भेटेर भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा.विजय चौथाइवालेले स्वदेश फर्कि सकेका छन् । यता, नेकपामा त्यसको बारेमा विवाद उत्पन्न भएको छ ।
यसअघि पनि भारतीय गुप्तचर संस्थाका प्रमुख सामन्त गोयललाई बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारी निवासमा बोलाएर भेटेका थिए । सो विषयलाई लिएर पार्टीमा विवाद उत्पन्न भएको थियो ।

त्यस्तै, प्रधानमन्त्री अोलीको निर्देशनमा नेकपाका महासचिव विष्णु पौडेलले पत्र लेखेर भाजपाका विदेश विभागका प्रमुख चौथाइवालेलाई बोलाएकोमा सो पार्टीका स्थायी कमिटी सदस्य भिम रावलले आपत्ति जनाएका छन् ।
पार्टीका कार्यकारी अध्यक्ष प्रचण्ड र विदेश विभाग प्रमुख माधवकुमार नेपाललाई जानकारी नदिई भाजपाका विदेश विभाग प्रमुखलाई सरकारी व्यक्ति सरह आमन्त्रण गर्दै नेपालका प्रधानमन्त्रीले वालुवाटारमा वार्ता गर्नु विधि, पद्धति र कूटनीतिक मर्यादा उल्लंघन भएको नेता रावलले बताएका छन् ।
उनले आफ्नो ट्वीटरमा भनेका छन्, ‘देश, पार्टी र पदको गरिमाको रक्षा होस् ।’ प्रमुख चौथाइवाले शनिवार स्वदेश फर्किसकेका छन् ।




