काठमाडाैं, २१ मंसिर । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले आजको बैठक प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा उपस्थित भए सरह नै रहेको बताएका छन्।
धुम्बाराहीमा आज बसेको बैठकमा ओलीले सचिवालय सदस्य ईश्वर पोखरेलमार्फत् पत्र पठाएका थिए। उक्त पत्रको राजनीतिक अर्थ अध्यक्ष ओलीले बैठक बहिस्कार नगरेको हुने रावलको भनाइ छ।

‘आजको बैठकमा उहाँ श-शरीर उपस्थित नभए पनि लेखेर पठाउनु भएकोले उहाँ बैठकमा उपस्थित भए सरह हो, राजनीतिक रूपमा त्यस्तो अर्थ लाग्छ,’ रावलले भने।
उनले मंसिर २८ मा बस्ने बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष उपस्थित हुने विश्वास पनि व्यक्त गरेका छन्। ‘अर्को बैठकमा उहाँ आउनुहुन्छ। बैठकमा अध्यक्ष नआउने भन्ने हुँदैन,’ उनले भने, ‘जेजस्ता समस्या छन् गम्भीर रूपमा छलफल गर्नुपर्छ। निष्कर्ष निकाल्नुपर्छ।’
उनले अब बस्ने स्थायी र केन्द्रीय समितिबाट आन्तरिक समस्या उचित किसिमबाट हल गरिने पनि बताएका छन्।
‘भौतिक रूपमा कुनै कारणले उहाँ आउनु भएन होला राजनीतिक रूपमा आउनुभएको छ,’ उनले भने, ‘पत्रमा बैठक बहिष्कार गर्छु भन्नुभएको छैन। स्थायी कमिटीका कमरेठहरू भन्ने सम्बोधन गर्नुभएको छ त्यो बैठकमा मात्रै हुन्छ।’ उनले पार्टी अनिर्णयको वन्दी नहुने पनि बताएका छन्।




