काठमाडौं, २ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भोलि (बुधबार) का लागि तय भएको सचिवालय वैठक केहि पर सार्न नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पक्षले गरेको प्रस्ताव अर्का अध्यक्ष प्रचण्डले अस्वीकार गरेका छन् ।
ओलीले सचिवालय बैठक केही दिन पर सार्न महासचिव विष्णु पौडेलमार्फत गरेको प्रस्ताव अर्का अध्यक्ष प्रचण्डले अस्वीकार गरेका हुन् । बैठक सार्ने ओलीको प्रस्ताव बोकेर मंगलबार बिहान अध्यक्ष प्रचण्डनिवास खुमलटार पुगेका महासचिव पौडेललाई प्रचण्डले बैठक सार्ने निर्णय पनि छलफलबाट गरिनु पर्ने अडान लिएका हुन् ।
अर्थमन्त्री समेत रहेका पौडेलले प्रचण्डसँगको भेटमा समस्या समाधानको सूत्र खोजेर मात्रै बैठक बस्न उपयुक्त हुने ओलीको सन्देश सुनाएका थिए । ‘पार्टीभित्रको विवादको समाधान खोजेर मात्रै सचिवालय बैठक बसौं । त्यसका लागि बुधबारको बैठक केही दिन पर सारौँ र सहमतिका लागि छलफल गरौं भन्ने ओलीको प्रस्तावलाई अध्यक्ष कमरेडले अस्वीकार गर्नुभयो’, प्रचण्ड निकट एक नेताले सुनाए, ‘अध्यक्षले बैठकको मिति तय भइसकेकाले बैठक सार्नु राम्रो नहुने बरु भोलिकै सचिवालयमा बाँकी छलफल गरौंला भनेपछि महासचिव सोही सन्देश बोकेर बालुवाटार जानुभएको छ ।’

शुक्रबार शुरु भएको सचिवालय बैठक बुधबार दिउँसो १ बजेलाई बोलाइएको छ । शुक्रबारको बैठकअघि अध्यक्षद्वयबीच पत्रमार्फत एकअर्कामा जवाफ आदान प्रदान भएको थियो । सोही बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको प्रस्तावमा समेत ओली सकारात्मक छैनन् ।
अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठले पटक पटक अनौपचारिक बैठक बसेर सचिवालयको औपचारिक बैठकका लागि ओलीलाई दबाब दिएपछि कार्तिक २८ गते ४० मिनेट बैठक बसेको थियो ।
प्रचण्डको बैठक नरोक्ने जवाफ बोकेर महासचिव विष्णु पौडेल मंगलबार नै बालुवाटार पुगेपछि ओलीले आफू निकटका नेताहरुलाई बालुवाटारमै बोलाएर छलफल थालेका छन् । छलफलमा पनि ओलीले पहिला दुई अध्यक्षबीच सहमति कायम गरेर मात्रै सचिवालय बैठक बस्नुपर्ने भन्दै के गर्दा ठिक हुन्छ भनेर धारणा मागेका थिए ।
‘प्रधानमन्त्रीले समस्या समाधानका लागि छलफल गर्न बोलाउनु भएको रहेछ । दुई नेताबीच सहमतिपछि मात्रै बैठक बस्न उपयुक्त हुन्छ भन्ने उहाँको मतमा र सहभागीहरुले पनि समर्थन जनाएका छौँ’, बालुवाटार पुगेका एक नेताले भने । शुक्रबारको बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले केपी ओलीको कार्यशैलीमाथि विभिन्न आरोपहरु लगाउँदै १९ पृष्ठ लामो प्रस्ताव पेश गरेका छन् ।
बुधबारको बैठकमा सो प्रस्तावमाथि छलफल हुनुपर्ने प्रचण्डको अडान भने ओली पक्षले चाहिँ प्रचण्डले सो प्रस्ताव फिर्ता लिनुपर्ने अडान राख्दै आएको छ । प्रधानमन्त्री ओलीले प्रचण्डको प्रतिवेदनलाई वाहियात र झूठको संज्ञा दिँदै आफूले त्यसको जवाफ नदिने बताइरहेका छन् ।
यो अवस्थामा बुधबारको बैठक स्थगित गर्ने ओली पक्षको प्रस्ताव प्रचण्ड पक्षले नमानेपछि बैठक नरोकिने लगभग निश्चित जस्तै देखिएको छ । तर, सो बैठकमा ओली पक्षका नेताहरु सहभागी हुने– नहुने निश्चित छैन ।




