काठमाडौं, ३० कार्तिक । पार्टीभित्रको विवाद समाधानका लागि आफ्नातर्फबाट पहल गरिदिन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई आग्रह गरेका छन् ।
बालुवाटारमा गौतम पुग्दा महासचिव तथा अर्थमन्त्री समेत विष्णु पौडेल पनि त्यही थिए । उपाध्यक्ष गौतमलाई आज (आइतबार) वालुवाटारमै बोलाएर प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रस्ताव फिर्ता लिन भूमिका खेल्न आग्रह गरेका छन् ।
प्रचण्डको प्रस्तावले पार्टीमा झ्न विवाद बढाएको बताउँदै प्रधानमन्त्री ओलीले उक्त प्रस्ताव फिर्ता लिन सहयोग गर्न आग्रह गरेका हुन् । प्रधानमन्त्रीको आग्रहपछि उपाध्यक्ष गौतमले प्रचण्डले पेस गरेको प्रस्ताव प्रचण्ड एक्लैको नभई आफूसहित सचिवालयका पाँच जनाको सामुहिक प्रस्ताव भएको दोहोर्याएका थिए । गौतमले ओलीलाई सामुहिक नेतृत्व प्रणाली स्वीकार गर्दै स्वेच्छाचारी प्रवृत्ति त्याग्न आग्रह समेत गरेका छन् ।
ओलीले आफूलाई अफ्ठ्यारोमा साथ दिँदै आएको भन्दै पुनः एक पटक सहयोग गर्न भनेका थिए । गौतमले भने पहिला कार्यशैली सुधार गर्न सुझाएका थिए । गौतमले प्रचण्ड र माधवकुमार नेपाललाई गाली गरेर पार्टीभित्रको समस्या समाधान नहुने भन्दै बैठक बसेर प्रस्तावका बारेमा छलफल गर्दै अघि बढ्न सकिने अवस्था कायमै रहेको जनाएका छन् । बताएका छन् ।
सचिवालय बैठकमै आफ्ना कुरा राख्न भन्दै गौतमले सरकार पार्टीको मार्गनिर्देशन, नीति र घोषणाअनुसार चलाउन भनेका थिए । ‘पहिला आफ्नो स्वेच्छाचारिता सच्चाउनुस् अनि मात्रै प्रस्ताव फिर्ता लिने–नलिने भन्ने विषयले प्रवेश पाउँछ’, वामदेवलाई उद्धृत गर्दै उनका प्रेस सहयोगी विश्वमणि सुवेदीले भने, ‘भेटमा प्रधानमन्त्रीले क. वामदेवलाई मन्त्रालय रोजेर सरकारमा आउन आग्रह गर्नुभयो ।’
जवाफमा गौतमले पहिला कार्यशैली सच्याएर अगाडि बढ्न आग्रह गर्दै सरकारमा जाने निर्णय बैठकबाट गराउन भनेको सुवेदीले जानकारी दिएका छन् । सामूहिक नेतृत्व प्रणाली स्वीकार गर्न नसक्ने व्यक्ति कम्युनिष्ट हुन नसक्ने भन्दै गौतम बालुवाटारबाट बाहिरिएका थिए ।
पाँच नेताको राजनीतिक प्रस्तावका कारण अहिले अल्पमतमा रहेको प्रधानमन्त्री ओली थप अप्ठ्यारोमा परेका छन् । नेकपा सचिवालय वैठक मंसिर ३ गतेका लागि तोकिएको छ । तर, पछिल्लो पटक ओली निकट नेताहरुले प्रचण्डले प्रस्ताव फिर्ता नलिएसम्म पार्टीको कुनै पनि तहको वैठक बस्न नसक्ने बताइरहेका छन् ।




