कैलाली, २३ कात्तिक । कञ्चनपुरको दक्षिणी सीमावर्ती क्षेत्रमा हतियारसहित प्रवेश गरेका भारतीय सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मीलाई स्थानीय वासिन्दाले धपाएका छन् ।
जिल्लाको बेलौरी नगरपालिका–१० भुडास्थित नेपाल–भारत सीमा क्षेत्रमा एसएसबीका ६ जना सुरक्षाकर्मी शनिबार प्रवेश गरेका थिए । डोरी, क्यामेरा र हतियारसहित रहेका उनीहरूलाई स्थानीयवासीले अनुमति बिना नेपाल प्रवेश गरेको भन्दै आइतबार फिर्ता पठाएका हुन् ।

‘हामीले कोसँग सोधेर आयौ भन्यौँ । उनीहरुले कसैलाई सोधेका छैनौँ भने । त्यसपछि २०/२५ जना युवाहरू मिलेर लखेट्न थाल्यौँ’ बेलौरी नगरपालिका–१० का वडा सदस्य रामनाथ चौधरीले भने ‘त्यसपछि उनीहरु भागे ।’
उनले यसअघि पनि पटक पटक नेपाली भूमिमा प्रवेश गरेर एसएसबीले ज्यादती गर्ने गरेको बताए । ‘हामीलाई हाम्रै भूमिमा आएर धम्की दिन्छन् । नेपाल सरकारले चासो दिँदैन’ उनले भने ‘यस पटक पनि एकलौटी रुपमा नेपाल छिरेर सीमा नाप्दै थिए । हामी जाइलाग्न खोजेपछि उनीहरु भागे ।’
नेपाली प्रशासनसँग समन्वय नगरी सीमा स्तम्भ निरीक्षण गर्ने भन्दै हतियारसहित एसएसबीका सुरक्षाकर्मी नेपाल प्रवेश गरेका थिए । बेलौरी नगरपालिका वडा नम्बर १० को नेपाल भारत सीमा स्तम्भ नम्बर ३५ देखि नाप्दै आइरहेको एसएसबी ३४ र ३३ नम्बर सीमा स्तम्भ भएको क्षेत्रमा हतियारसहित पुगेपछि धपाएको वडासदस्य चौधरीले बताए ।
शनिबार सोही टोली बेल्डाडी गाउँपालिकाको सीमा नम्बर ३२ मा समेत पुगेको स्थानीयले बताएका छन् ।




