काठमाडौं, १३ कार्तिक । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य, सांसद तथा पूर्वमन्त्री मात्रिका यादवले पार्टीभित्र विधि र विधानलाई नेताहरुले फलो नगरेको टिप्पणी गरेका छन् ।
आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले नेकपा कसैले पनि नफुटाउने दाबी गरेका छन् । उनले भने, यस्तो मोजमस्ती छ हामीलाई, क्रान्ति गर्नुछ र हामीलाई ? म चाहीँ अब क्रान्तिकारी छैन् ।

उनले आफूहरुले गरेको जनयुद्धले केही उपलब्धि भएन भन्नु गलत हुने बताए । उनले भने, जनयुद्धकै बलमा नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको हो । धेरै उपलब्धि भएका छन् । समानूपातिक प्रतिनिधित्व भएको छ । केही भएन भन्न मिल्दैन् । जुन प्रकारले अघि बढ्नुपर्ने थियो त्यसरी अघि बढेको छैन् ।
उनले तपाईहरुको पार्टी किन एक ढिक्का भएर अघि बढ्न सकेन भनेर सोधेको प्रश्नमा उनले भने, सुरुमा पार्टी एकता गर्ने बेलामा पनि प्रचण्डसँग भनेको थिएँ कि यो ठिक भएको छैन् । विचारमा स्पष्ट नभईकन एकता गनुृहुँदैन थियो भनेर मैले भनेको थिएँ । एकता बचाउनको लागि हामी जे–जे गर्नुपर्ने हो, त्यो गरिराखेका छौं । हामी एकताविरोधी होईन् । सही र गलतको बीचमा बहस चलाउने हो ।
उनले नेपाल र भारतबीच सुमधुर सम्बन्ध हुनुपर्ने धारणा राखे । रअ प्रमुखसँग प्रचण्डले भेटेको भन्ने समाचारमा उनले आपत्ति जनाए । उनले भने, उहाँहरु भेट्नुभएको होईन ।
कसरी भेटे भन्नेबारे विज्ञहरुलाई सोध्नुहोला । रअ प्रमुख प्रधानमन्त्रीको दूत बनेर आएको भए त लुकेर आउने थिएनन नि ? पर्सामा नेकपाका मुकेश चौरसियाको शब किन उठेन ? किटान जाहेरी किन दर्ता भएन ? भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा उनले भने, हिजो पनि हामी छलफल गर्यौं । त्यो घट्ना नियोजित हो ।
प्रहरी प्रशासनको पनि सहयोग देखिन्छ । मुकेश चौरसियाको शब नउठ्नुमा प्रशासन सिधै अगाडि छ । पछाडि को को छ ? त्यो खोजतलास गर्ने विषय हो । नत्र केश किन दर्ता हुँदैन् ? यो पार्टीको लागि, यो कसको सरकार हो ? बुझि नसक्नुहुन्छ ।
अनि शब उठाउन ढिला भयो नि, तपाईहरुको योजना के छ ? भनेर सोधेको अर्को प्रश्नमा उनले थपे, घट्ना घटेको आज ८ दिन भैसक्यो । हामी शब उठाउँछौं । पहिला केश दर्ता गर्नुपर्छ । पोष्टमार्टम हुनुपर्छ ।
जाहेरी किटानी लिनुपर्छ भनेर ३७ जना केन्द्रिय सदस्यहरुले जाहेरी दर्ताको माग गरेका छौं । गृहमन्त्री रामबहादुर थापा बादलले किटानी जाहेरी लिन्छु भनेको भएपनि मन्त्री थापा भन्दा माथिकोले नगर भनेर जोहरी दर्ता नगरेको होला भन्ने उनको धारणा छ ।
उनले भने, सायद प्रधानमन्त्रीको दबाबमा गृहमन्त्री पर्नुभयो । पार्टीको कार्यकर्ताको हत्या हुन्छ, अनि जाहेरी दर्ता हुँदैन् । भिड्न जानुपर्ने हो । हामीले फेरि छाती थाप्नुपर्यो । देशका साथीहरुलाई भन्छु । फिल्डमा आएर बुझ्नुहोस । सिडिओले भनिरहेको छ दर्ता गरौं भनेर । तर, किन भएको छैन ?
उनले स्थायी कमिटीको म्याण्डेट प्रधानमन्त्रीले लत्याउनुभयो भनेर नेकपाका नेताहरुले भनेका छन् नि ? भनेर राखेको अर्को जिज्ञासामा उनले भने, म स्थायी कमिटी बैठकको एजेण्डाको समर्थक थिईँन । स्थायी कमिटकिो प्रस्तावमा मेरो विमति थियो ।
कसरी अगाडि बढ्छ भन्ने कुरा त्यो उहाँहरुलाई सोध्नुहोस् । केही मान्छेहरु बस्ने छलफल गर्ने अनि टालटुल पार्ने हिँड्ने गलत हो । विधि र प्रक्रियाअनुसार पार्टी चलेको छैन् । व्यक्तिगत र सामूहिक स्वार्थहरुबीच टकराव भैरहेको छ । प्रचण्डले पनि केही गर्न सक्नुभएन भन्ने होईन । दुवै अध्यक्षले गरिरहेका छन् । आ–आफ्नो ढंग र विचारअनुसार हिँडिरहेका छन् ।




