काठमाडौं, २२ असोज । मन्त्रिमण्डल पुनर्गठन, पार्टी एकीकरणको बाँकी काम पूरा गर्ने विषयमा प्रधानमन्त्री एव्म नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र अर्का नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा छलफल चलिरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र ओली एक्लाएक्लै छलफल गरिरहेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिएका छन् ।

दुई अध्यक्षबीच अहिले छलफल चलिरहेको भए पनि के-के विषयमा कुरा भइरहेको छ भन्ने जानकारी नभएको उनले बताएका छन् । प्रधानमन्त्री ओलीले आजै रिक्त तीन मन्त्रालयमा मन्त्री नियुक्त गर्ने तयारी गरेको स्रोतले जानकारी दिएको छ ।
सोही विषयमा प्रचण्डसँग सहमति गरेर निणर्य गर्न छलफल भइरहेको स्रोतले जनाएको छ । आजै मन्त्रीपरिषद् बैठक पनि बस्दैछ । दुई अध्यक्षबीच कुन मन्त्रालयमा कसलाई लैजाने भन्ने विषयमा सहमति जुट्न नसक्दा मन्त्रिमण्डल पुनर्गठनमा ढिलाइ भइरहेको छ ।




