काठमाडौँ, २० असाेज । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्व लक्षित विशेष अप्रेशन थालेको छ । चाडपर्वमा उपत्यका बाहिर जाने यात्रुसँग मौकाको फाइदा उठाएर बढी भाडा लिई टिकट काट्ने ५ जना व्यक्तिहरूलाई पक्राउ गरेको छ ।
ट्राफिक प्रहरी आफैँ यात्रु बनेर कारवाही अभियान चलाएको महाशाखाले जनाएको छ । कोटेश्वर एरियाको काउन्टरबाट बिमल खत्री र किरण पौडेल तथा बल्खुबाट जितेन्द्र शाह, मदन भुजेल र धर्मेन्द्र यादव पक्राउ परेका हुन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले चाडपर्वलाई मध्यनजर गरी सादा पोशाकमा ट्राफिक प्रहरी खटाएर बढी भाडा लिनेविरुद्ध कारवाही चलाएको जानकारी दिए ।

उनले यात्रु ठगीका घटना रोक्न विशेष अभियान चलाएको तर प्रहरीको आँखा छलेर ठगीमा परिएको स्वयं यात्रुले गुनासो गरे ट्राफिक प्रहरी खटाई तुरून्तै कारवाही गर्ने पनि बताए ।
प्रहरीले आफैँ यात्रु बनेर निगरानी गर्ने, हिँड्न लागेको गाडीका यात्रुसँग जानकारी लिएर कारवाही गर्ने र प्यासेञ्जर बस्ने लाइनमा बसेर फलानो ठाउँ जाने भनी टिकट मागेर अडियो/भिडियो रेकर्ड गरी उनीहरुलाई कारवाहीको दायरामा ल्याउने गरेको छ ।
यसका लागि ट्राफिक प्रहरीले पीडित सहायता कक्षबाट सादा पोशाकमा प्रहरी टोली परिचालन गरेको छ ।
जितेन्द्र साहले बल्खुदेखि हेटौंडासम्म ८०० रुपैयाँ भाडा लिएको खुल्न आएको छ । जबकी बलखुदेखि हेटौंडासम्मको भाडादर ४०० मात्र हो । साहले दोब्बर नै भाडा असुल्न खोजेका थिए ।
यस्तै पदमपोखरी यातायात सेवा बल्खुको कर्मचारी मदन भुजेलले बल्खुदेखि सर्लाहीसम्मको भाडा १३०० लिएका थिए । बढी भाडा लिएका भुजेललाई पक्राउ गर्न ट्राफिक प्रहरी आफै यात्रु बनेर पुगेको थियो ।
सम्पुर्ण यातायात प्रा.लि.को कर्मचारी बाराका धर्मेन्द्रले बल्खुदेखि सर्लाहीको लालबन्दीसम्मको भाडा १२०० लिएको खुलेको महाशाखाका एसएसपी ढकालले बताए ।
पक्राउ परेकामध्ये खत्री र पौडेललाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी प्रभाग कोटेश्वर र अन्य ३ जनालाई महानगरीय प्रहरी वृत्त कालीमाटीमा बुझाइएको महाशाखाका प्रवक्ता तथा एसपी रामेश्वर यादवले बताए ।




