काठमाडौं, २० असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालमा संघीयता आवश्यक छैन भन्ने कुरा पाँच वर्षे अनुभवबाट प्रमाणित भइसकेको बताएका छन्।

थापाले केन्द्र र स्थानीय तहलाई कायम राखेर प्रदेश तह खारेज गर्न समेत माग गरेका छन्। प्रदेशको नामकरण र स्थायी राजधानीका विषयमा प्रदेश ५ मा भएको गतिविधिलाई लिएर उनले यस्तो माग गरेका बताएका छन्।
उनले प्रदेशसभा बैठकमा मन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूको ध्वंसात्मक कार्य निन्दनीय रहेको समेत बताएका छन्।
‘प्रदेश ५ प्रदेशसभा बैठकमा मन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूको ध्वंसात्मक कार्य निन्दनीय रहेका छन्। मंगलबार बिहान सामाजिक सञ्जाल ट्विटरमा अध्यक्ष थापाले लेखेका छन्, ‘यो घटनाको कारणले मात्र होइन, संघीयताको ५ वर्षे अनुभवले समेत संघीयता आवश्यक छैन भन्ने प्रमाणित भएको छ। केन्द्र र स्थानीय तह कायम गरी प्रदेश तह खारेज गरौँ।’
प्रदेशको स्थायी राजधानी दाङको देउखुरी राख्ने प्रस्तावको बिपक्षमा रहेका कांग्रेस संसदहरुले प्रदेशसभामा कुर्सी तोडफोड गरेका थिए भने कानुन मन्त्रीले उनीहरुलाई बाहिर निकाल्न आदेश दिएका थिए। 




