एजेन्सी, ६ असोज । भारतको उत्तर प्रदेशको बदायूँ जिल्लामा पतिले आफ्नै गर्भवती पत्नीको धारिलो हतियारले पेट चिरिदिएका छन् । उनले मृत बच्चा जन्माएको प्रहरीले जनाएको छ।
ती दम्पतीका पाँच जना छोरी रहेका र ती पुरुषले छोरा जन्माउन पत्नीलाई दबाव दिने गरेको महिलाको माइती पक्षले आरोप लगाएका छन्। उनीहरुले शिशुको लिङ्ग पहिचान गर्न उनलाई आक्रमण गरिएको पनि आरोप लगाएका छन् ।
पक्राउ परेका ती पुरुषले भने उक्त घटनालाई दुर्घटनाको सङ्ज्ञा दिँदै आफूले जानीजानी त्यस्तो कार्य नगरेको बताएका छन्। पेट चिरिएकी महिलालाई राजधानी दिल्लीस्थित अस्पतालमा राखिएको छ र उनको स्वास्थ्य अवस्था स्थिर रहेको बीबीसीमा उल्लेख छ ।

उनकी बहिनीका अनुसार छोरा पाउने विषयलाई लिएर उक्त दम्पतीबीच नियमित रूपमा झगडा हुने गर्थ्यो। उनका भाइका अनुसार स्वास्थ्य अवस्था निकै गम्भीर भएपछि चिकित्सकहरूको सल्लाहमा उनलाई दिल्ली पुर्याइएको थियो।




