काठमाडौं, २८ भदौ । समयमै रासायनिक मल आपूर्ति नगर्ने दुई नेपाली कम्पनीलाई कृषि सामग्री कम्पनी लिमिटेडले कालोसूचीमा राख्न सिफारिस भएको छ।
देशका विभिन्न स्थानमा मल नपाउँदा किसान आन्दोलित हुन थालेपछि समयमै मल नल्याउने ठेकदार शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज, ललितपुर र हुमनाथ कोइरालाको होनिको मल्टिप्रपोज कम्पनी, काठमाडौंसँगको ठेक्का सम्झौता भदौ २१ गते रद्ध गरेको थियो।
कृषि सामग्री कम्पनी लिमिटेडले शैलुङ इन्टरप्राइजेजसँग वैशाख १२ गते र होनिको मल्टिप्रपोज कम्पनीसँग १५ गते २५/२५ मेट्रिक टन युरिया मल खरिद गर्नका लागि सम्झौता भएपनि तोकिएको समयमा नल्याएपछि कालोसूचीमा राखेर कारवाही गर्नुपरेको प्रबन्ध संचालक नेत्र बहादुर भण्डारीले जानकारी दिए।

सार्वजनिक खरिद अनुगमन कार्यालय, ताहाचल काठमाडौंलाई सम्बोधन गरेर लेखिएको पत्रमा भनिएको छ, ‘खरिद सम्झौता भएकोमा दुवै सप्लायरले सम्झौता बमोजिमको कार्य समयमा नगरेकोले सार्वजनिक खरिद ऐन बमोजिम कालोसूचीमा राखी कार्वाही गर्नुपर्ने भएकोले आवश्यक कागजात यसै पत्र साथ संलग्न राखि पठाइएको व्यहोरा अनुरोध छ ।’ पत्रको बोधार्थ कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई समेत दिइएको छ।
उनीहरुले साउन ७ गतेभित्र मल ल्याइसक्नुपर्नेमा सप्लायर्सको अनुरोध २५ दिन समय थप गरिएको थियो। दुवै कम्पनीले भदौ २० गतेसम्म ५० हजार मेट्रिक टन युरिया मल ल्याइसक्ने पर्नेमा त्यस्तो नगरेकाले कारबाही गरिएको हो।
दुई कम्पनीको सम्झौता रद्द गरेसँगै कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले लापरवाही गर्ने कम्पनिलाई कारवाही गर्ने प्रक्रिया सुरु भएको बताएका थिए। अहिले युरिया आपूर्तिको ठेक्का लिएकाहरु माथिको गरिएको कार्यवाहीलाई आफूले सुशासनका लागि थालिएको अझ महत्वपूर्ण कदमका रुपमा लिएको उनले बताएका थिए। भुसालले जसरी पनि ठेक्का पार्ने तर काम नगर्ने प्रवृत्ति निरुत्साहित हुने र भविष्यमा पनि सुशासनलाई अझ कडाईका साथ पालना गरिने स्पष्ट पारेका छन्।




