बुटवल, २९ भदौ । कोरोना भाइरसको संक्रमणबाट कपिलवस्तुमा थप दुई जनाको ज्यान गएको छ । शिवराज नगरपालिका वार्ड नं.५, चन्द्रौटा बजारका दुई जनाको मृत्यु भएको हो ।
कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत कोरोना सङ्क्रमित एक महिलाको मृत्यु भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका–५ की ४७ वर्षीया महिलाको उपचारका क्रममा आज बिहान ४ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिनुभयो ।
गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा यही भदौ २१ गते मिर्गौलाको डायलिसिस गराउन आएकी महिलामा कोरोना पोजेटिभ देखिएपछि उपचारका लागि कोरोना विशेष अस्पताल बुटवलमा लगिएको थियो । सघन उपचार कक्षमा राखेर उनको उपचार भइरहेको थियो ।कोरोना विशेष अस्थायी अस्पतालको सघन उपचार कक्षमा १७ र भेन्टिलेटरमा एक जना कोरोना सङ्क्रमितको उपचार भइरहेको बताइएको छ ।

त्यस्तै उक्त वार्डकै ५८ वर्षे पुरुषको पनि गएराति भैरहवास्थित भीम अस्पतालमा मृत्यु भएको छ । स्थानीय व्यवसायी उनी दमका बिरामी थिए । महिलामा भदौ २१ र पुरुषमा भाद्र २२ गते कोरानो भाईरस संक्रमण पुष्टि भएको थियो । जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।




