बागलुङ, १८ भदौ । बागलुङमा अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा आएको बाढीले कम्तिमा १० घर बगाएको छ भने करिब १२ जना बेपत्ता भएका छन् ।
जिल्लाको ढोरपाटन नगरपालिका–९ मा बाढीले बगाउँदा १२ जना बेपत्ता भएका हुन् । स्थानीयका अनुसार सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको छ ।
अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा आएको बाढीले घर बगाउँदा करिब १२ जना सम्पर्क विहीन रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङले जानकारी दिएको छ ।

रातिको समयमा खोला उर्लेर आउँदा कति क्षति भयो र कति बेपत्ता भए भन्ने यकिन हुन सकेको नभएको जनाइएको छ। बाढीका कारण एक दर्जन मानिस बेपत्ता भएको र एक जनाको शव फेला परेको बताइएको छ ।




