वीरगञ्ज,१३ भदौ । देशमा कोरोनाबाट प्रत्यक दिन दुई जना भन्दा बढीले ज्यान गुमाइरहेका छन् । त्यस्तै वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
वीरगञ्ज–१२ मुर्ली की ६५ वर्षीया महिलाको मृत्यु भएको हो । योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ ।श्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार दिउँसो २ बजेतिर नारायणी अस्पतालमा भर्ना भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । न्युन रक्तचापको समस्याले ग्रसित उनलाई पखाला पनि लागेको थियो ।
उपचारको क्रममा साँझ साढे पाँच बजेतिर उनको मृत्यु भएको अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिए । त्यस्तै लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

पाल्पको तानसेन नगरपालिका–८ मदनपोखराकी ३० वर्षीया महिलाको मृत्यु भएको हो । भदौ ५ गते स्वास्थ्यमा समस्या भएपछि मेडिकल कलेज गएकी उनमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा भदौ ७ गते कोरोना पुष्टि भएको थियो ।




