काठमाडौं, १२ भदाै । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४१५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।
विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ४१५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। सोमबार २२४ जना र मंगलबार २३२ र बुधबार ३०१ र बिहीबार ३७७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
एकैदिन काठमाडौंका ३५० जना, भक्तपुरका ५४ जना र ललितपुरका ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा.गौतमले जानकारी दिए।

यस्तै पछिल्लो २४ घण्टामा ९२७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। योसहित संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। शुक्रबार संक्रमित हुनेमा ३३४ महिला र ५९३ पुरुष छन्। बिहीबार मात्र ११ सय ११ जनामा कोरोना देखिएको थियो।
मन्त्रालयका अनुसार १६ हजार १९ जना सक्रिय संक्रमित छन्। संस्थागत आइसोलेसनमा ९ हजार ५७३ जना छन् भने आइसोलेसनमा बस्नेको संख्या होम ६ हजार ४४६ पुगेको छ। क्वारेन्टाइनमा ८ हजार ९३९ रहेका छन्। २४ घन्टामा १० हजार २२९ जनाको पीसीआर परीक्षण भएको छ।
पछिल्लो २४ घण्टामा १९९ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित २० हजार २४१ जना निको भएर घर फर्किएका छन्।




