बार्सिलोना छोड्ने मेस्सीको निर्णय : रिलिज क्लज ७ सय मिलियन युरो, यी ३ क्लबले अनुबन्ध गर्न सक्ने 

`

     २०७७ भाद्र १० गते १०:२०

एजेन्सी, १० भदाै । लियोनल मेसीले मंगलबार बार्सिलोना छाड्ने औचापरिक निर्णय लिँदै ‘ट्रान्सफर’ का लागि सनसनीपूर्ण अनुरोध गरेका छन् । अर्जेन्टिनाका ३३ वर्षीय खेलाडीले क्लबलाई फ्याक्स गर्दै आफूले क्लब छाड्ने सर्त अभ्यास गर्न चाहेको बताए ।

उनको अनुबन्धमा आफूले चाहेमा तत्काल लागू हुने गरेर बिनामूल्य क्लब छाड्न पाइने उल्लेख छ । युरोपेली च्याम्पियन्स लिगमा बार्सिलोना बायर्न म्युनिकसँग ८–२ ले पराजित भएपछि उनी क्लब छाड्ने मनसायमा पुगेका थिए ।

‘यो पत्रको माध्यमबाट, म, लिओनेल आन्द्रेस मेस्सी कुचीटिनि, आइडी नम्बर (खालि) बाट, अनुरोध गर्दछुकी क्लबसँग रहेको मेरो व्यावसायिक सम्झौता रद्द होस् । सम्झौतामा रहेको बुँदा नम्बर २४ ले मलाई यो अधिकार प्रदान गरेको छ,’ मेस्सीको पत्रमा लेखिएको छ, ‘ मेरो व्यक्तिगत विकास र व्यावसायिक सम्बन्ध विकासका लागि क्लबले मेरो यहाँको बसाइभर दिएको अवसरप्रति म आभारी छु । मैले यहाँ प्राविधिक र व्यक्तित्व विकासमा धेरै कुरा सिक्ने अवसर पाएँ । अहिले भने व्यक्तिगत कारण (खालि) का कारण म कठिन निर्णय लिन बाध्य छु । मलाई आशा छ मलाई क्लब व्यवस्थापनले सहज रुपमा समन्वय गर्नेछ ।’

६ पल्टका बलोन डे’अर विजेता खेलाडी र बार्सिलोना व्यवस्थापनबीच लामो समयदेखि राम्रो सम्बन्ध छैन् । बार्सिलोना भने अनुबन्धअनुसार मेसीले बिनामूल्य क्लब तत्काल छाड्न सक्ने सर्त समाप्त भइसकेको मान्छ ।

बार्सिलोना सन् २०२१ सम्म कायम अनुबन्ध अनुसार मेसीलाई अन्य क्लबले किन्न ७० करोड युरो तिर्नु पर्ने सर्त रहेको मान्छ । मेसीको निर्णय बाहिर आएपछि बार्सिलोना बोर्डको बैठक चाँडै बस्दैछ ।

यी तीन क्लबले अनुबन्ध गर्न सक्ने 

मेस्सीले बार्सिलोना छाड्ने औपचारिक रुपमा कदम चालेसँगै अब उनी कहाँ जान्छन् भन्ने सर्वत्र चर्चा छ । बार्सिलोना छाडेपछि स्पेनकै अर्को क्लब जाने नदेखिएको उनले युरोपमै खेल्ने सम्भावना प्रबल छ ।

सम्झौता अनुसार मेस्सीको रिलिज क्लज ७ सय मिलियन युरो रहेको छ । तर मेस्सीले कोरोनाका कारण सिजन लम्बिएका कारण यसअघि आफ्नो सम्झौतामा रहेको फुकुवा हुन पाउने सर्त प्रयोग गर्न नपाएको इंगित गर्दै क्लबलाई पत्र बुझाएका हुन् ।

बार्सिलोनामा नै आफ्नो व्यवसायिक खेल जीवन अघि बढाएका मेस्सीलाई भित्राउन सक्ने युरोपमा मुख्यत तीन क्लब रहेका छन् ।

इन्टर मिलान

इटालियन क्लब पहिलाबाट नै अर्जेन्टिनी सुपरस्टारलाई लिन चाहिरहेको थियो । यदि मेस्सी आउनका लागि तयार भए भने इन्टरले २ सय ६० मिलियन युरो सम्म खर्च गर्न तयार रहेको बताइएको छ । चिनियाँ मालिक रहेको क्लबले मेस्सीलाई धेरै अघिदेखि आफ्नो नजरमा राखेको थियो ।

यदि उनी इटाली पुगे भने फेरि एक पटक युभेन्ट्सका रोनाल्डोसँगको रोमाञ्चक प्रतिस्पर्धा हेर्न पाइनेछ । विगतमा एल क्लासिको जस्तो इटालियन डर्बी पनि रोमाञ्चक हुने अपेक्षा हुनेछ । मेस्सीका पिताले मिलानको पोर्टो नुउभामा घर किनिसकेका छन् । त्यसबाट पनि मेस्सी इटाली जाने सम्भावना रहेको बताइएको छ ।

म्यानचेस्टर सिटी

सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाकै कारण मेस्सी त्यहाँ जान सक्ने सम्भावना रहेको छ । मेस्सी र ग्वार्डिओलाबीच बार्सिलोनामा रहँदा राम्रो सम्बन्ध रहेको थियो । त्यति बेला बार्सिलोनाले निकै सफलता प्राप्त गरेको थियो । क्लबमा रहेका अन्य स्टाफ पनि मेस्सीसँग काम गरिसकेकाले उनलाई केहि सहज हुने अनुमान गरिएको छ ।

मेस्सीलाई लिन सक्ने बलियो आर्थिक अवस्था भएको क्लब मध्ये सिटी पनि एक हो । च्याम्पियन्स लिगको खराब प्रदर्शनबाट मेस्सी झन बढी दिक्क भएको र क्लब छाड्न चाहेको बताइएको छ । मेस्सीका मिल्ने साथी सर्जियो अगुएरो पनि त्यहि रहेकाले उनी जान सक्ने अर्को कारण हो ।

पेरिस सेन्ट जर्मेन (पिएसजी)

मेस्सीलाई लिन सक्ने अर्को क्लबमध्ये पिएसजी पनि हो । नेयमार, केलियन एमबाप्पले जस्ता स्टारहरु पिएसजीमा रहेकाले मेस्सी जाँदा टोली झन् बलियो हुन सक्नेछ । च्याम्पियन्स लिग जित्ने अभियानमा अघि बढेको क्लब यसपटक फाइनलमा चुकेको थियो । यसले पनि क्लबलाई अझ बलियो बनाउन हौसला पुगेको छ ।

बार्सिलोनामा नेयमार रहँदा उनीहरुबीच राम्रो साझेदारी हुने गरेको थियो । नेयमारले २०१७ मा बार्सिलोना छाडेदेखि नै मेस्सीलाई उनलाई पुनः फर्काउनु पर्छ भन्ने पक्षमा थिए । नेयमारलाई क्लबमा पुनः फर्काउन नसक्दा त्यसमा पनि मेस्सी निराश थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?